• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

रोगका कारण पाक्न नपाउँदै सुक्यो बर्खे धान

काठमाडौं।  शिवसताक्षी नगरपालिका–२ का किसान ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धानमा गम्भीर क्षति बेहोर्न बाध्य भएका छन्। रोगको सङ्क्रमणले धान क्न नपाउँदै बोटमै सुक्न थालेपछि किसानहरू निराश बनेका छन्।

नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार सो वडाका नौ जना किसानले नौ बिघामा लगाएको हर्दिनाथ–१ जातको धान बोटमै सुक्दै गएको छ। “धेरैजसो धानमा रोग देखिएको छ, जसका कारण उत्पादन हुने आशा लगभग समाप्त भएको छ,” उनले जानकारी दिए।

स्थानीय किसान शिवकुमारी मैनालीले आफूले एक विघा १५ कठ्ठामा लगाएको धान एकै रातमा सुक्न थालेको बताइन्। “धानका बाला लहराइरहेका थिए, तर एक्कासि के रोग आयो, भोलिपल्ट हेर्दा पूरै खेत भुसजस्तो देखियो,” उनले भनिन्।

उनका अनुसार अहिले धानको बोट खेतबाट हटाउन समेत गाह्रो भइरहेको छ। यता, बर्खे धानपछि हिउँदे धान लगाउने तयारीमा रहेका किसानहरू रोगका कारण अन्योलमा परेका छन्। कृषि शाखाले पीडित किसानका खेतको निरीक्षण गरिरहेको र प्राविधिक प्रतिवेदनका आधारमा क्षति मूल्याङ्कनसहित आवश्यक सहयोगका लागि पहल गरिने जनाएको छ।