
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ भन्ने सन्देशसहितको पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरसँगै उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै सामूहिकता र सत्यताप्रतिको विश्वासको पक्षमा अभिव्यक्ति दिएका छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “हिजोआज एउटालाई भगवान् बनाउनुपर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ। सामूहिक र सङ्गठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ।”
उक्त पोस्टरमा तल लेखिएको छ, “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।” प्रधानमन्त्री ओलीले पोस्ट गरेको पोस्टर अहिले एमाले नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिरहेका छन्।
एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य खिमलाल भट्टराईदेखि केन्द्रीय सदस्य सुहाङ नेम्वाङसम्मले पोस्टर सेयर गर्दै ‘सेयर ट्रेन’ चलाएका छन्। हालै राजावादी र रास्वपाका नेता–कार्यकर्ताहरूले पुराना दलहरूका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै ‘झोले’ भन्ने संज्ञा दिँदै आएकै सन्दर्भमा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।