• २०८३ साउन ७
  • 2026 July 23, Thursday

चार दिनका लागि बन्द हुने कान्ति लोकपथ

काठमाडौं। हेटौंडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्ति लोकपथ चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। मकवानपुर र ललितपुरको सिमानास्थित बगुवामा रहेको बागमती खोलामा बेलिब्रिज जडान गर्न सडक बन्द गरिन लागेको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानका लागि जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जानकारी दिएको छ।

सडक बन्द रहने अवधिमा हेटौंडाबाट काठमाडौँ जाने वा फर्कने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। यसअघि, गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाले बगुवास्थित बागमती पुलसम्मको पहुँच मार्ग बगाएको थियो।

त्यसपछि डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएकोमा, अबको वर्षा याममा डाइभर्सन बगाउने जोखिम बढेपछि सुरक्षित र दीर्घकालीन समाधानस्वरूप बेलिब्रिज जडानको प्रक्रिया सुरु गरिएको हो।