नेपाल भर्सेस नेदरल्यान्ड्स: डन्डीमा जित दोहोऱ्याउने लक्ष्यसहित मैदान उत्रिँदै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच जारी त्रिकोणात्मक शृंखलामा नेपालले बुधबार दोस्रो खेल खेल्दैछ। यो खेल स्कटल्यान्डको डन्डी मैदानमा हुनेछ, जहाँ नेपालले नेपाली समय अनुसार दिउँसो ३:४५ बजे नेदरल्यान्ड्सको सामना गर्नेछ।

नेपालले यसअघि सिरिजको पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराउँदै रोमाञ्चक जित हात पारेको थियो। एकदिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने नेपालले दुई खेलमा विजय हात पारेको छ। पछिल्लो दुई खेल २०२४ को फेब्रुअरीमा कीर्तिपुरमा भएको थियो, जसमा दुवैले एक-एक खेल जितेका थिए।

स्कटल्यान्डलाई हराएपछि नेपाल ८ अंकसहित अंक तालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएई ६ अंकसहित अन्तिम स्थानमा छ। अमेरिका २० खेलबाट २८ अंकसहित शीर्षमा छ भने नेदरल्यान्ड्स २६ अंकसहित दोस्रो, र ओमान २४ अंकसहित तेस्रो स्थानमा छन्। स्कटल्यान्ड र क्यानडाको समान २० अंक छ, तर रनरेटका आधारमा स्कटल्यान्ड चौथो र क्यानडा पाँचौं स्थानमा छन्। नामिबिया १४ अंकसहित छैटौं स्थानमा छ।

त्रिकोणात्मक लिग-२ पछि नेपालले यी दुई टोलीसँग टी-२० सिरिज पनि खेल्ने तालिका छ।

नेपाली टोलीमा रहेका खेलाडीहरू:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उपकप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, र रिजन ढकाल।