काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै आवश्यकता नभएको स्पष्ट पारेका छन्।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले गृहमन्त्रीमाथि अहिलेसम्म ठोस प्रमाण नआएको र छानबिनको प्रक्रिया पनि औपचारिक रूपमा सुरु नभएकाले राजीनामा दिनु उपयुक्त नहुने बताएका हुन्।
गुरुङले विपक्षी दलहरूले उठाएका प्रश्नहरूको जवाफ गृहमन्त्रीले संसद्मै दिन पाउनुपर्ने धारणा राख्दै, दलहरूबीच संवाद जारी रहेकाले समस्या समाधान निकट भविष्यमा हुने विश्वास व्यक्त गरे।
मन्त्रिपरिषद्का अन्य निर्णयहरूबारे जानकारी दिँदै उनले भने:
प्रेस काउन्सिलसम्बन्धी विषयमा: प्रेस काउन्सिललाई समावेशी बनाउने सरकारको प्रतिबद्धता रहेको तर हाल विविध कारणले यो प्रक्रिया पूर्णरूपमा कार्यान्वयन हुन नसकेको उल्लेख।
सेनासम्बन्धी निर्णयहरू:
एकजना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा
१० जना महासेनानीहरूको सरुवा
एकजना महासेनानीको राजीनामा स्वीकृत
अन्तर्राष्ट्रिय भ्रमण स्वीकृति:
जेठ २८/३० सम्म चीनमा हुने सम्मेलनमा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति
असार ३ गते अस्ट्रियाको भियनामा हुने ओपेक विकास कोष फोरममा सहभागी हुन अर्थ मन्त्रालयका सचिवलाई स्वीकृति