• २०८३ असार ५
  • 2026 June 19, Friday

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ सम्पन्न

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।

माओवादी सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा सापकोटाविरुद्ध १३ वर्षअघि मृतककी श्रीमती पूर्णिमाया लामासहित मानवअधिकारकर्मीहरूले रिट दायर गरेका थिए।

प्रधानन्यायाधीश प्रकाशमान सिंह मिश्रसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलासमा बुधबार सुनुवाइ सम्पन्न भएको हो।

आजको बहसमा सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले पक्ष राखेका थिए। यसअघि निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।

२०६९ मंसिरमा अर्जुन लामाको हत्या आरोपमा सापकोटासहित माओवादी नेताहरूविरुद्ध अनुसन्धान गर्नुपर्ने माग गर्दै पूर्णिमायाले किटानी जाहेरी दिएकी थिइन्। तर प्रहरीले जाहेरी दर्ता नगरेपछि अदालतको आदेशमार्फत रिट दायर गरिएको थियो। सर्वोच्च अदालतमा सापकोटाविरुद्ध हाल तीनवटा रिट निवेदन विचाराधीन छन्।