• २०८३ जेठ २२
  • 2026 June 05, Friday

कोरोनाको नयाँ लहर भारतभर, २७ राज्य प्रभावित, ४४ को मृत्यु

काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्दो छ। पछिल्लो तथ्याङ्कअनुसार मंगलबार एकैदिन ३०० नयाँ संक्रमित फेला परेका छन्।

तीमध्ये सबैभन्दा धेरै गुजरातमा १०८ र महाराष्ट्रमा ८६ केस पुष्टि भएका छन्। नयाँ संक्रमणसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय २ पुगेको छ।

हालसम्म २७ राज्य तथा केन्द्रशासित प्रदेशहरूमा कोरोना फैलिएको पुष्टि भएको छ भने ९ राज्यमा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन्, भारतीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै भास्करले जनाएको छ।

सबैभन्दा धेरै सक्रिय केस केरलामा १,३७३ छन्, जसका कारण यो राज्य सबैभन्दा बढी प्रभावित बनेको छ। त्यसपछि महाराष्ट्रमा ५१० सक्रिय केस छन्।

जनवरीयता देखा परेको नयाँ भेरियन्टबाट ४४ जनाको मृत्यु भइसकेको छ, तीमध्ये ३७ जनाको मृत्यु पछिल्ला ५ दिनमा मात्र भएको हो। मंगलबार मात्रै महाराष्ट्रमा ४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जससँगै त्यहाँ मृतक संख्या १४ पुगेको छ।

दिल्ली, गुजरात र तमिलनाडुमा पनि एक–एक जनाको मृत्यु भइसकेको छ। हिमाचल प्रदेशमा पहिलोपटक कोरोना पुष्टि भएपछि राज्य सरकारले सबै अस्पतालमा मास्क अनिवार्य बनाएको छ। उता केरलाले सबै सरकारी तथा निजी अस्पतालहरूमा मोक ड्रिल (पूर्वतयारी अभ्यास) गर्न आदेश दिएको छ।