काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण पनि नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै गम्भीर भएको भन्दै छानबिन हुनुपर्नेमा जोड दिएका छन्।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनलाई सहज बनाउनुपर्ने बताएका हुन्।‘यो सामान्य विषय होइन। हामीले निरन्तर उठाइरहेका छौँ।
सभामुखले बोलाएको बैठकमा पनि यही अडान राखेका थियौँ,’ पाण्डेले भने, ‘गृहमन्त्रीलाई हामीले आरोप लगाएका होइनौँ, तर अध्यागमन मन्त्रालय मातहत पर्छ, त्यसैले उहाँले नैतिक जिम्मेवारी लिनुपर्छ।’
उनले यदि गृहमन्त्रीले राजीनामा दिन नसक्ने अवस्था भए पनि सरकारले छानबिन समिति गठन गर्ने स्पष्ट प्रतिबद्धता जनाए संसद् चल्न सक्ने बताएका छन्।
‘हामी तयार थियौँ, तर सत्तापक्षले सहमति गरेन,’ पाण्डेले बताए। ‘उनीहरूले गृहमन्त्रीको राजीनामा पनि नहोस, छानबिन पनि नहोस् तर सदन खोल्नुपर्ने अडान राखेपछि सहमति जुटेन।’
पाण्डेले माओवादी केन्द्र सुशासन र जनउत्तरदायित्वमै केन्द्रीत रहेको र त्यही अनुरूप सदनमा आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारे।