• २०८३ असार ५
  • 2026 June 19, Friday

भ्रष्टाचार मुद्दामा माधव नेपालसँग १८ करोडभन्दा बढी बिगो दाबी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिहीबार दायर गरिएको मुद्दामा नेपालसँगै तत्कालीन मुख्यसचिव माधव घिमिरे, सचिव छविराज पन्त, प्रेमसिंह बस्नेतलगायत उच्च पदस्थ अधिकारीहरू प्रतिवादी छन्।

अख्तियारका अनुसार भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले २०६६ सालमा काभ्रेको बनेपामा हदबन्दी छुटमा ५९३ रोपनी जग्गा खरिद गरेको थियो। तर दुई महिना नबित्दै सो जग्गामध्ये ३५३ रोपनी गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बिक्री गर्न स्वीकृति दिइएको आरोप छ।

अख्तियारले यो प्रक्रिया स्वीकृत गर्ने सरकारी निकायहरूले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो। मुद्दामा सरोकारवालाहरूले पतञ्जलिको नाममा प्राप्त छुटको दुरुपयोग गर्दै निजी कम्पनीलाई फाइदा पुर्‍याएको तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको ठहर गरिएको छ।