• २०८३ असार ५
  • 2026 June 19, Friday

माधव नेपालमाथि मुद्दा दायर, झलनाथले भने– ‘इतिहासमै पहिलो र गम्भीर घटना’

काठमाडौँ ।  नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएको घटनाप्रति सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गहिरो दुःख व्यक्त गरेका छन्। उनले पार्टीभित्र औपचारिक छलफल नभएको र आफूले घटनाको सम्पूर्ण विवरण अझ नपाएको भए पनि विषय गम्भीर रहेको बताए।

“यो घटनाबारे भर्खरै जानकारी प्राप्त भयो। पार्टीमा यसबारेमा कुनै छलफल भएको छैन,” खनालले भने, “तर घटना धेरै दुःखद छ। सम्पूर्ण तथ्य बुझेर मात्र प्रतिक्रिया दिनु उपयुक्त हुन्छ।”

उनले नेपालको इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर हुनु सामान्य विषय होइन भन्दै यसप्रति संवेदनशील दृष्टिकोण अपनाउनुपर्ने बताए।

“के भएको हो? पूर्वाग्रह हो कि होइन? वा अरू केही कारण छ — त्यो बुझ्न बाँकी छ। तर यति चाहिँ स्पष्ट छ कि यो घटना नेपालकै इतिहासमा पहिलो हो,” खनालले भने, “यस्ता गम्भीर विषयमा हचुवाका भरमा टिप्पणी गर्नु उपयुक्त हुँदैन।”

पूर्वप्रधानमन्त्री नेपालको कार्यकालमा पतञ्जलि योगपीठले जडीबुटी खेती तथा आयुर्वेद अस्पताल निर्माणका लागि काभ्रेको बनेपामा हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तर, पछि सो जग्गा मन्त्रिपरिषद्कै निर्णयबाट निजी हाउजिङ कम्पनीलाई बिक्री गरिएको पाइएपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको हो।