काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता डा. बेदुराम भुसालले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका छन्।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा खरिद–बिक्री प्रकरणमा अनियमितता भएको भन्दै नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि नेता भुसालले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिएका थिए।
“मुद्दामा दुई पक्ष छन्,” भुसालले भने, “पहिलो, उहाँप्रति राजनीतिक पूर्वाग्रह साँधिएको छ, जसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं। दोस्रो, कानुनी पक्ष छ, जसमा हामी दृढतापूर्वक लड्नेछौं।”
अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। मुद्दामा नेपाल प्रधानमन्त्री रहेका बेला पतञ्जलि योगपीठले हदबन्दी छुटमा खरिद गरेको जग्गा केही महिनामै हाउजिङ कम्पनीलाई बिक्री गर्न स्वीकृति दिइएको विषयलाई अनियमितता ठहर गर्दै भ्रष्टाचारको आरोप लगाइएको छ।