• २०८३ असार ५
  • 2026 June 19, Friday

रेशमपछि महिमानसिंह विष्टको निवेदन पनि उच्च अदालत पाटनमा, आज सुनुवाइ

काठमाडौं। सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टले जिल्ला अदालत काठमाडौँको धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई ‘अनधिकृत रूपमा’ पक्राउ गर्न पत्राचार गरेका विष्टलाई गत जेठ ५ गते जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। विष्टले भने उक्त आदेश उचित नरहेको दाबी गर्दै तारेखमा राख्न माग गरेका हुन्।

विष्टले गत वैशाख १७ गते प्रहरी र डिल्लीबजार कारागारलाई चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए। सोही पत्रका आधारमा चौधरीलाई करिब पाँच घण्टा कारागारमा राखिएको थियो। पछि सर्वोच्च अदालतले पत्र सच्याएपछि चौधरी रिहा भएका थिए।

घटनापछि विष्टलाई प्रहरीले पक्राउ गरी लिखत किर्ते आरोपमा अनुसन्धान सुरु गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले विष्टविरुद्ध मुद्दा दायर गरेपछि सो मुद्दा हाल जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ।

जिल्ला अदालतको आदेशविरुद्ध विष्टले उच्च अदालतमा निवेदन दर्ता गरेपछि, सोही घटनासम्बन्धी अर्का निवेदक रेशम चौधरीले भने उनलाई थुनामा राख्न माग गर्दै जेठ १९ गते उच्च अदालतमा निवेदन दिएका थिए। त्यसबारे उच्च अदालतले काठमाडौँ जिल्ला अदालतबाट मिसिलसहित कैफियत माग गरिसकेको छ।

दुवै पक्षका निवेदनमाथि आज सुनुवाइ तय भएको छ। न्यायाधीशद्वय डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासमा सुनुवाइ हुने उच्च अदालत स्रोतले जनाएको छ।