• २०८३ असार ५
  • 2026 June 19, Friday

संसद् अवरुद्ध हुँदा कानुन निर्माण प्रक्रिया प्रभावित: सभामुख घिमिरे

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले संसद् सञ्चालन नहुँदा महत्त्वपूर्ण विधेयकहरू अड्किएको बताएका छन्।

डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डीन) को ४५औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

सभामुख घिमिरेले कानुन निर्माण प्रक्रियामा संसद्को नियमित सञ्चालन आवश्यक भएको बताउँदै संसद् अवरुद्ध हुँदा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐनलगायतका महत्त्वपूर्ण विधेयकहरू प्रभावित भएको स्पष्ट पारे। उनका अनुसार ती विधेयकहरूलाई कानुनको रूपमा ल्याउन संसद्ले समयमै काम गर्नुपर्ने आवश्यक छ।

विधेयकहरू अड्किने स्थिति अन्त्य गर्न सबै राजनीतिक पक्षले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुख घिमिरेले संसद् सञ्चालन, सरकार नियमन र कानुन कार्यान्वयनमा सर्वोच्च जिम्मेवारी रहेको संस्थाको नियमित सञ्चालन सुनिश्चित गर्नु आवश्यक रहेको बताए।

कार्यक्रमको सन्दर्भमा वातावरणीय संकटतर्फ पनि ध्यानाकर्षण गराउँदै उनले कार्बन उत्सर्जन नियन्त्रणको उपाय तत्काल लागू नगरे वर्तमानसहित भविष्यको जीवनसमेत गम्भीर जोखिममा पर्ने चेतावनी दिए।