काठमाडौँ । संसद् बैठक खुलाउने वा अवरोध जारी राख्ने भन्ने विषयमा विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी छ।
गृहमन्त्री रमेश लेखकको भिजिट भिसासम्बन्धी विवाद सार्वजनिक भएपछि विपक्षीहरूले नैतिक जिम्मेवारीको आधारमा उनको राजीनामाको माग गर्दै जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।
बिहीबार बसेको विपक्षी दलहरूको बैठकले भने राजीनामा मागको अडानबाट केही लचिलो हुँदै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने र त्यसबारे सरकारबाट सदनमा स्पष्ट प्रतिबद्धता आउनुपर्ने माग राखेको थियो।
तर, विपक्षी नेताहरूको आरोप छ कि सरकार अझै पनि उक्त मागप्रति सकारात्मक देखिएको छैन। “सरकार माग मान्न तयार छैन, त्यसैले अवरोध जारी रहनेछ,” नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताए। संसद् सञ्चालनका लागि विभिन्न पक्षबाट भएका प्रयासहरू हालसम्म सफल नहुँदा संसद् बन्धक बन्न पुगेको छ।