• २०८३ असार ५
  • 2026 June 19, Friday

पतञ्जली प्रकरण: मुद्दा परे पनि मेयर थापा निलम्बनमा नपर्ने, अख्तियारको स्पष्टीकरण

काठमाडौँ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा पदबाट निलम्बनमा नपर्ने भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सार्वजनिक पदधारीकाविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा पर्ने कानुनी प्रावधान भए पनि मेयर थापाको हकमा त्यो लागु नहुने अख्तियारले स्पष्ट पारेको छ।

के कारण लागु भएन निलम्बन?
अख्तियारका सहायक प्रवक्ता उपसचिव देवीप्रसाद थपलियाका अनुसार मेयर थापालाई मुद्दामा प्रतिवादी बनाइएको भए पनि उनीमाथि प्रत्यक्ष भ्रष्टाचारको अभियोग होइन, बरु जग्गा जफतको प्रयोजनका लागि मात्र मुद्दामा समावेश गरिएको हो।

यसअघि ललिता निवास प्रकरणमा पनि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीविरुद्ध यस्तै प्रकारको मुद्दा दायर भए पनि पद निलम्बन गरिएको थिएन।

जग्गा खरिद प्रकरण
मेयर थापाले साविक साँगा गाविस–४(ख) को कित्ता नं. ५५२ को जग्गा डिल्लीध्वज बराइलीबाट रु १ करोड ३० लाख ६६ हजारमा खरिद गरेका थिए। अख्तियारमा दिएको बयानमा उनले उक्त जग्गा पतञ्जलीसँग सम्बन्धित रहेको जानकारी नपाएको र सबै प्रक्रिया पूरा गरी खरिद गरेको बताएका थिए।

मुद्दामा कति जना प्रतिवादी?
यस प्रकरणमा मेयर थापासहित २८ जना व्यक्ति र २ कम्पनीलाई जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको हो। बाँकी ६३ जनालाई भने बिगो, कैद र जरिवानासहितको आरोपसहित प्रतिवादी बनाइएको छ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने मुद्दा दर्ता भएपछि सांसद पदबाट स्वतः निलम्बित भइसकेका छन्।