• २०८३ असार ५
  • 2026 June 19, Friday

देउवा र प्रचण्डबीच भिजिट भिसा प्रकरणबारे छलफल, छुट्टै आयोग गठनमा सहमति जुटेन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार साँझ भेटवार्ता भएको छ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, साँझ ५ बजे देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको पनि सहभागिता थियो।

प्रतिनिधि सभामा भिजिट भिसा प्रकरणका कारण उत्पन्न गतिरोध हटाउनका लागि दुई नेताबीच संवाद भएको हो। विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामासहित घटनाको गहिरो छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्।

यद्यपि, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) गृहमन्त्रीको राजीनामा भन्दा पनि छानबिनका लागि विशेष आयोग गठनमा केन्द्रित देखिएको छ। त्यसै सन्दर्भमा प्रचण्डले देउवालाई छुट्टै आयोग गठनको प्रस्ताव राखेका थिए।

तर, देउवाले सो प्रस्तावमा सहमति जनाएनन्। “भिजिट भिसा प्रकरणको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेकाले नयाँ आयोग आवश्यक छैन,” देउवाले भनेको प्रचण्डका सल्लाहकार आचार्यले जानकारी दिए।

प्रचण्डले भने अख्तियारले छानबिन गरिरहेको भए पनि प्रश्न उठिसकेको र निष्पक्षता सुनिश्चित गर्न छुट्टै आयोग आवश्यक रहेको तर्क गरेका थिए। यसबीच, माओवादी केन्द्रको पदाधिकारी बैठकले संसद्को गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैसँग संवाद अघि बढाउने निर्णय गरेको थियो।

गणतन्त्र समर्थक विपक्षी दलहरूसँगको छलफलपछि शनिबार देउवासँगको संवाद भएको हो। आचार्यका अनुसार, प्रतिपक्षी दलहरूको तर्फबाट कांग्रेससँग संवाद गर्न प्रचण्डलाई जिम्मेवारी दिइएको थियो। सहमति नजुटेपछि थप रणनीति तय गर्न आइतबार मध्याह्न विपक्षी दलहरूको बैठक बोलाइएको छ।