काठमाडौं । अवरुद्ध प्रतिनिधिसभा बैठक चल्न दिने वा नदिने भन्ने विषयमा विपक्षी दलहरूको बैठक जारी रहेकाले सदन सुरु हुनमा ढिलाइ भइरहेको छ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक एक घण्टा ढिला हुँदासम्म पनि सुरु हुन सकेको छैन। सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार, विपक्षी दलहरूको बैठकका कारण सदन सुरु हुन ढिलाइ भइरहेको हो।
“प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूको बैठक सकिएपछि निर्णय लिई सभामुखलाई जानकारी दिनुभएको छ,” अधिकारीले भने। “सभामुख ज्यू निर्णयको लागि कुरेर बसिरहनु भएको छ।”
विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको लागि संसदीय समिति वा न्यायिक छानबिन आयोग गठनको माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएका छन्।