काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसले संसदमा देखिएको गतिरोध अन्त्य गर्न विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गरिरहेका छन्, जसको समाधानको लागि कांग्रेसले संवादको प्रयास तीव्र पारेको छ।
आज नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल गरेका छन्। छलफलमा रास्वपाले भिजिट भिसा प्रकरणको जाँचबुझको लागि आयोग वा संसदीय समिति गठन गर्नुपर्ने धारणा प्रस्तुत गरेपछि कांग्रेसले यसलाई अस्वीकार गरेको छ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार रास्वपाले जाँचबुझ आयोग वा संसदीय समिति गठनको प्रस्ताव राखे पनि कांग्रेसले यसमा सहमति जनाएन। छलफलमा रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार र सांसद शिशिर खनाल सहभागी थिए।
कांग्रेसले भने, “यस विषयको जाँचबुझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ, त्यसैले कुनै नयाँ जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्न सक्ने अवस्था छैन,” भनेको छ। कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र सांसद ज्ञानेन्द्रबहादुर कार्की छलफलमा उपस्थित थिए।
छलफलपछि कांग्रेसले रास्वपाको प्रस्तावको मस्यौदा माग गरेको छ र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सँग छलफल अघि बढाएको छ।यस बीच, कांग्रेसले केवल माओवादी केन्द्र र रास्वपासँग छलफल गरिरहेको र एमालेलाई सो छलफलमा सहभागी नगरेको बारेमा असन्तोष जनाइएको छ। एमालेका एक नेताले भने, “कांग्रेस, माओवादी र रास्वपा तीनै दल मिलेर निर्णय गरिरहेका छन्, तर हामीलाई कुनै छलफलमा पनि सामेल गरिएका छैनौं।”
एमाले भिजिट भिसा प्रकरणमा कुनै जाँचबुझ समिति गठन गर्नको पक्षमा छैन। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक भने दलहरू बीच सहमति नजुटेकाले अहिलेसम्म बस्न सकेको छैन। सभामुख देवराज घिमिरेले बैठक सोमबार दिउँसो २ बजे बस्ने आशा व्यक्त गरेका थिए।