• २०८३ असार ५
  • 2026 June 19, Friday

नक्कली बिल र सूचना प्रकाशनबिनै भुक्तानी लिएको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । विज्ञापन बिना नै नक्कली पत्रिका देखाएर भुक्तानी लिएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा तत्कालीन प्रशासकीय अधिकृत, सहलेखापाल नवीनकुमार यादव, तराईं पोष्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा सम्पादक रामजी बगाले, र तराईं पोष्टका प्रकाशक रूपेन्द्र पटेलविरुद्ध मुद्दा दायर गरेको हो।

के हो आरोप?
फतुवा विजयपुर नगरपालिका–४ मा कृषकहरूलाई स्प्रे ट्यांकी वितरणका लागि आ.व. २०७८/७९ मा बोलपत्र आह्वान गरिएको थियो। नगरपालिकाले जनसवाल राष्ट्रिय दैनिक र तराईं पोष्ट पत्रिकामा सूचना प्रकाशन गरेको दाबी गरे पनि प्रेस काउन्सिल नेपालले सो दाबी असत्य भएको पुष्टि गरेको छ। काउन्सिलका अनुसार दुवै पत्रिकामा सूचना प्रकाशन भएको देखिएन।

तर पनि ती पत्रिकाको नक्कली प्रति बनाई बिल पेश गरी जनसवाललाई रु. १ लाख ७२ हजार ८२५ र तराईं पोष्टलाई रु. ३९ हजार ४०० भुक्तानी दिइएको पाइएको छ। यो प्रक्रिया बदनियतपूर्वक गरिएको ठहर गर्दै अख्तियारले कुल रु. २ लाख १२ हजार २२५ बिगो कायम गरेको छ।

के के सजाय माग गरियो?
तत्कालीन प्रशासकीय अधिकृत र सहलेखापाललाई:

तीन वर्ष कैद

बिगो असुलसहित जरिवाना

सरकारी कागजातमा केरमेट गरेको आरोपमा थप ३ महिनादेखि २ वर्षसम्म कैद र ५० हजार जरिवाना

तराईं पोष्टका प्रतिनिधि ओमप्रकाश यादवलाई मुख्य कसुरदार सरह सजाय माग

सम्पादक रामजी बगालेलाई मतियार सरह सजाय माग

बिगो: रु. १ लाख ७२ हजार ८२५

तराईं पोष्टका प्रकाशक रूपेन्द्र पटेललाई

बिगो: रु. ३९ हजार ४००

सोहीअनुसार कैद र जरिवाना माग

अख्तियारले यस घटनालाई नक्कली कागजात, कर कटौतीको बेथिति र सार्वजनिक पदको दुरुपयोग भन्दै भ्रष्टाचार ऐनअन्तर्गत मुद्दा दायर गरेको हो।