काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजना सुरु हुने स्थानबारे देखिएको विवाद तथा समाधानका उपायहरूबारे खोकना र बुङमती क्षेत्रका स्थानीय प्रतिनिधिहरूसँग आज छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा एमाले ललितपुर महानगर कमिटी अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले वडा नं २१ अध्यक्ष ज्ञानभक्त महर्जन लगायत सहभागी थिए। उनीहरूले आयोजना सुरु गर्ने स्थान खोकनामा तोकिँदा परम्परागत संस्कृति, सभ्यता र समुदायको अस्तित्वमा असर पर्ने भएकाले डुकुछापतर्फ साढे पाँच किलोमिटर तल सार्न सुझाव दिएका थिए।
छलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर डङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरू र नेपाली सेनाका प्रतिनिधिहरू समेत सहभागी थिए। प्रधानमन्त्री ओलीले स्थानीयको चासोलाई सम्मान गर्ने सरकारको नीति रहेको बताउँदै स्थलगत निरीक्षणपछि मात्रै अन्तिम निर्णय लिइने जानकारी गराएका छन्।
यसअघि माघ २३ गते प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना सम्बन्धी प्रगति तथा समस्या समाधानका विषयमा उच्चस्तरीय बैठक गरेका थिए। सो बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायतको सहभागिता थियो।