
जेनेभा । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानीमैत्री सुधार, निजी क्षेत्रको सहभागिता र अन्तर्राष्ट्रिय सहकार्यका लागि जोड दिएका छन्।
सोमबार जेनेभामा सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलन (ILO) को ११३औं सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले दिगो र समावेशी आर्थिक वृद्धिको मूल आधार निजी क्षेत्र भएको उल्लेख गरे।
“हामी सबैका भूमिका फरक–फरक भए पनि हाम्रो साझा लक्ष्य भनेको व्यवसायलाई विकास गर्न सहज वातावरण बनाउनु र काम गरिरहँदा शिष्ट र मर्यादित बनाउनु हो,” उनले भने, “यसैले ILO को त्रिपक्षीय मोडेल महत्वपूर्ण छ र FNCCI यसमा सहभागी हुन पाउँदा गर्व महसुस गर्छ।”
ILO प्रमुखको २०२५ का लागि प्रस्तुत प्रतिवेदनलाई समर्थन गर्दै ढकालले लगानी आधारित विकासलाई रोजगारी, अधिकार र समावेशी वृद्धिसँग जोड्नुपर्ने बताए।
उनले नेपालमा लगानीसम्बन्धी ३० भन्दा बढी कानुनमा संशोधन गरिएको, द्विपक्षीय लगानी सम्झौता (BIA) को नयाँ ढाँचा पारित भएको जानकारी दिंदै यस्ता सुधारले औपचारिक क्षेत्रलाई सशक्त मात्र होइन, अनौपचारिक उद्यमलाई पनि मूलधारमा ल्याउने विश्वास व्यक्त गरे।
यसै प्रयासको परिणामस्वरूप नेपाललाई विश्वका ४ वटा “च्याम्पियन देश” मध्ये एकको रूपमा औपचारिक अर्थतन्त्रको दिशामा उदाहरणीय प्रगति गरिरहेको मुलुक भनेर छनोट गरिएको उनले जानकारी दिए।
ढकालले नेपालको जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिको अपार सम्भावनाको चर्चा गर्दै भारत र चीनजस्ता विशाल बजारको छेउमा रहेको नेपालको भौगोलिक लाभप्रति पनि संकेत गरे।
“नेपालमा लगानी गर्नु भनेको भारत र चीनजस्ता ठूला बजारसम्म सहज पहुँच हुनु हो,” उनले भने। “नेपालले २०२६ मा न्यूनतम विकसित देश (LDC) को सूचीबाट बहिर्गमन गरेपछि पनि यी मुलुकहरूसँगको शून्य महसुल व्यापार सुविधा कायम रहन्छ, युरोप र अमेरिकासँग पनि व्यापार सुविधा निरन्तर रहनेछ।”
उनले निजी इक्विटी, भेन्चर क्यापिटललगायत जलवायु वित्तको आवश्यकता पनि औंल्याए। “संसारकै छानालाई जोगाउन हामीले अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ,” भन्दै ढकालले हिमाली तथा द्वीपीय मुलुकका लागि विशेष प्रावधानको माग गरे।
अन्त्यमा उनले FNCCI ले वैदेशिक लगानी प्रवाह सहज बनाउन FDI समर्थन डेस्क स्थापना गरेको र श्रमिक संघहरूसँग सहकार्य गर्दै सार्वजनिक-निजी संवादलाई सुदृढ पार्ने MoU मा हस्ताक्षर गरिएको जानकारी दिए।
ढकालले भने, “हामी समावेशी भविष्य निर्माणका लागि विश्व समुदायसँग मिलेर अघि बढ्न तयार छौं।”
ILO सम्मेलनले श्रम मापदण्ड निर्माण, रोजगार प्रवृत्तिमा छलफल र सबैका लागि शिष्ट कार्य सुनिश्चित गर्न विश्वव्यापी सरोकारवालाहरूलाई एकसाथ ल्याउने उद्देश्य राखेको छ।