• २०८३ असार ५
  • 2026 June 19, Friday

नागरिकता ऐनमा सेरोगेसीको विषय कसरी समेटिने? हितराज पाण्डेकाबाट प्रश्न

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नागरिकतासम्बन्धी विधेयकमा सेरोगेसीको विषय कसरी सम्बोधन गर्ने? भन्दै प्रश्न गरेका छन्।

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारसँग सेरोगेसीसम्बन्धी विषयलाई कसरी समाधान गर्ने भन्दै प्रश्न गरेका हुन्। आधुनिकताको विकाससँगै सेरोगेसीको चलन बढ्दै गइहेको छ।

विकसित मुलुकमा मात्र होइन, नेपालमा पनि सेरोगेसीको चलन बढ्दो छ। अरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई सेरोगेसी भनिन्छ। सेरोगेसीलाई गर्भ भाडामा लिने प्रकृया पनि भनिन्छ।

विश्वका चर्चित कलाकारहरूले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन्। नेपालमा पनि सेरोगेसीको चलन बढिरहेको सन्दर्भमा प्रमुख सचेतक पाण्डेले सरकारको जबाफ माग गरेका हुन्।

उनले सेरोगेसी सुरू हुँदै गर्दा त अहिले नागरिकतामा समस्या सिर्जना भइरहेको समयमा सेरोगेसीको चलन बढ्दै जाँदा नागरिकतामा कसरी समेट्ने भन्दै प्रश्न गरे।

उनले भने, ‘नागरिकताको कुरा गर्दा मेरो दिमागमा एउटा कुरा आएको छ। यो सरकारले हल कसरी गर्छ भन्ने हो। अहिले विज्ञानले विकास गर्दागर्दै सेरोगेसी मदरको कुरा आउँछ। सेरोगेसीको समस्या नागरिकतामा कसरी समेट्ने। त्यो नहुँदा त अहिले असजिलो परिरहेको छ। यो सेरोगेसीको कुरा पनि आइसक्यो अब त।

विज्ञानले विकास गरिसक्यो। यो पनि नागरिकताको एउटा समस्या हो। यो कुरालाई कसरी समाधान गर्ने हो? नेपाल सरकारले कसरी सोचेको छ। ’ प्रमुख सचेतक पाण्डेले नागरिकतासम्बन्धी विधेयकमा व्यापक छलफल गर्न जरूरी रहेको बताए। समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा  छलफल जारी छ।