काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोश्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो ।
समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकता बिहिन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए । सवै समिति सदस्यहरुको सहमतिमा सर्वसम्मत रुपले विधेयक पारित भएको उनले बताए ।
त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्वपूर्ण रहेको बताए ।
बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने बिषय विधेयकमा मुख्य रुपमा समेटिएको उनले बताए । उनले नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्य देशको नागरिकता नलिएको भए अङ्गीकृत नागरिकता प्राप्त गर्ने स्पष्ट पारे । नागरिकता वितरणका कानूनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो ।