काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा ५२ जना पदाधिकारीको नियुक्तिसम्बन्धी विवादमा आज फैसला सुनाउँदैछ।
संवैधानिक इजलासले यसअघि यही मुद्दामा बुधबार फैसला सुनाउने तय गरेको थियो। उक्त इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सहभागी छन्।
संवैधानिक निकायहरूमा भएका नियुक्ति विवादबारे माघ ३० गतेदेखि सुनुवाइ सुरु भएको थियो। इजलासले जेठ १ गतेको पेशीमा पक्षहरूलाई जेठ १६ गतेभित्र बहस नोट बुझाउन आदेश दिएको थियो। त्यसपछि, जेठ २८ गते फैसला सुनाउने मिति तोकिएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद् सम्बन्धी कानुन संशोधन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायहरूमा नियुक्ति गरेको थियो। ती नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ताहरू ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीलगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
ओली सरकारले परिषद् सम्बन्धी कानुन दुईपटक अध्यादेशमार्फत संशोधन गरी दुवै चरणमा नियुक्ति सिफारिस गरेको थियो। पहिलो पटक २०७७ मंसिर ३० मा सिफारिस गरी माघ २१ गते ३२ जना र दोस्रो पटक २०७८ वैशाखमा सिफारिस गरी असार १० मा थप २० जना गरी कुल ५२ जना संवैधानिक पदाधिकारी नियुक्त गरिएको थियो।