काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन्।
मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आफूहरू झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए।
उनले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरवबोध गर्नुपर्ने बताए। एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको बताए।
सुशासन नभइकन सामाजिक र आर्थिक रुपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको बताए। मन्त्री गुरुङले एमालेको झोला बोक्ने कुरामा सबैले गर्व महसुस गर्नुपर्ने बताए। आफू राष्ट्रियताको झण्डा बोक्ने व्यक्ति भएकाले एमालेको झोले भएको जिकिर गरे।