काठमाडौं । दलका नेता र उच्च तहका कर्मचारी भ्रष्टाचारको मुद्दामा परिरहेका बेला पत्रकार पनि मुछिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो ३ महिनामा मात्रै ८ जना पत्रकारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो एक सातामा त्यस्तो संख्या ६ जना छ ।
जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादवलाई धनुषाको बटेश्वर गाउँपालिकाको सूचनाको विषयलाई लिएर भ्रष्टाचार अभियोग लागेको छ ।
उनले आर्थिक वर्ष २०७६/२०७७ मा गाउँपालिकाको बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना लुकाएर एक प्रतिमात्रै प्रकाशित गरी सेटिङमा बील बनाइ ६ लाख ४४ हजार १०० रूपैयाँ भुक्तानी लिएका थिए । उनीमाथि ३ महिनादेखि ३ वर्षसम्म कैद र बिगो मागदाबीसहित चैत १२ मा मुद्दा परेको छ ।
त्यस्तै नेपाल मिडिया हाउस प्रालिका निर्देशक नवराज निरौलाविरुद्ध बाराको फेटा गाउँपालिकासँगको मिलेमतोमा ठेक्काको सूचना सौर्य दैनिक पत्रिकामा नगरी/नगराई अभिलेखमा राख्ने गरीमात्र प्रकाशन गरी १ लाख ४२ हजार १६० रकम भुक्तानी लिएकोमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रेस काउन्सिल नेपालको रेकर्डमा हेर्दा पत्रिकामा ती सूचना प्रकाशित भएको देखिएन । उनीहरूसँग ३ लाख १६ हजार ४१० रूपैयँ बिगो ३ महिनादेखि ३ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।
२ दिनअघिमात्र रौतहट फतुवा विजयपुर नगरपालिकामा कृषकहरूका लागि औषधि स्प्रे टंकी वितरणको टेण्डर सूचना ननिकाली सेटिङ गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, पत्रिकाका सम्पादक, प्रकाशक र पत्रकारसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार उक्त सूचना जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशित भएको भएको भनिएको सूचना वास्तविकरूपमा प्रकाशन गरेको नदिएको र एकप्रति रेकर्डका लागि मात्र प्रिन्ट निकालिएको थियो ।
तत्कालीन प्रशासकीय अधिकृत, सह-लेखापालसँगै जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी वगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र तराई पोष्टका प्रतिनिधि ओमप्रकाश यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।
जनसवाल राष्ट्रिय दैनिकलाई १ लाख ७२ हजार ८२५, तराई एक्सप्रेसलाई ३९ हजार ४ सय र तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २२५ रूपैयाँ झुट्टा बिल राखेर भुक्तानी गरिएको थियो ।