वीपीको आदर्श सम्झँदै डा. शर्मा: पत्रकारिता थुनिने होइन, फूल्ने क्षेत्र हो

काठमाडौं, जेठ २८ पत्रकार दिलभूषण पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीको विषयले देशको प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूमा गम्भीर बहस सिर्जना गरिरहेको छ। खोजमूलक पत्रकारितामार्फत सत्ता र संस्थालाई प्रश्न गर्नेलाई अपराधी ठहर गर्दै कानुनी कठघरामा उभ्याउने प्रवृत्तिप्रति व्यापक आलोचना भइरहेका बेला नेपाली कांग्रेसका सांसद डा. सुनील कुमार शर्माले तीव्र आपत्ति जनाएका छन्।

डा. शर्माले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै २०१६ सालको इतिहास स्मरण गरेका छन्, जब नेपाली कांग्रेसको दुईतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री बी.पी. कोइरालाले पत्रकारहरूलाई सरकारका कमजोरी खोज्न र जनताको पक्षमा सत्य बोल्न हौसला दिएका थिए। त्यही बीपीले पत्रकारितालाई राष्ट्रको चेतना विकास गर्ने माध्यमको रूपमा सम्मान गरेका थिए। तर, अहिले खोजी पत्रकारितामाथि नै कानुनी अंकुश लगाउने प्रयास हुनु दुःखद भएको डा. शर्माको टिप्पणी छ।

उनले भनेका छन्, “के सत्ता सँग प्रश्न गर्नु, खोजमूलक पत्रकारिताका माध्यमबाट विविध सन्दर्भ उजागर गर्नु, र सत्य जनतासामु ल्याउन प्रयास गर्नु पत्रकारको अपराध हो?” उनका अनुसार पत्रकारिताको धर्म भनेकै प्रश्न गर्नु, तथ्य उजागर गर्नु, र शासकलाई जनतासामु उत्तरदायी बनाउनु हो, न कि डरमा चुप लाग्नु।

विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जीलाई डा. शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति अधिकारमाथिको गम्भीर हमला भनेका छन्। उनका अनुसार, प्रकाशित/प्रशारित सामग्रीप्रति असहमति भए त्यसको विधिसम्मत निरुपण प्रेस काउन्सिलमार्फत हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि सिधै कानुनी कारबाहीमा जानु प्रेसमाथिको दमनको प्रयास हो।

“यो केवल एक व्यक्तिको मुद्दा होइन,” डा. शर्माले भनेका छन्, “यो अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार, र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप हो।” उनले राज्यसत्तालाई सचेत गराउँदै पत्रकार दिलभूषण पाठकमाथिको पक्राउ पुर्जी तत्काल फिर्ता गर्न माग गरेका छन्।

सांसद शर्माको यो धारणा न केवल पत्रकार पाठकको पक्षमा स्पष्ट ऐक्यबद्धता हो, बरु यसले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ठोस राजनीतिक सन्देश पनि दिएको छ। वीपी कोइरालाको आदर्श सम्झँदै डा. शर्मा स्पष्ट गर्छन् पत्रकारिता थुनिने होइन, फूल्ने क्षेत्र हो।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१