
बागलुङ । बागलुङकाे बागलुङ नगरपालिकाकाे प्रमुखमा दिनेश पन्तले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघि नेपाली कांग्रेसकाे तर्फबाट राजनीतिमा सक्रिय पन्तले अहिले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् ।
पार्टी अस्थिर र अराजनीतिक भएका कारण उनले स्वतन्त्रमा उम्मेदवारी दिएकाे हुलाक सञ्चारलाई जानकारी दिए । उनले भने, ‘अहिले पार्टीमा अराजनीतिक शैली हावी भएकाे छ । राम्रा र विकास गर्न चाहने व्यक्तिलाई पार्टीले उपेक्षा गरेकाे छ । त्यही कारण मैले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकाे हुँ ।’
उनले बागलुङ नगरपालिकामा अहिले भइरहेका जनप्रतिनिधि भ्रष्ट भएकाे र अबका दिनमा भ्रष्टाचारमुक्त बागलुङ नगरपालिका बनाउने प्रणका साथ आफू चुनावी मैदानमा उत्रिएकाे पनि दाबी गरे ।
उनले आफूले चुनाव जितेमा बागलुङ नगरापालिकामा १२ कक्षासम्म नि:शुल्क शिक्षालगायतका नगरपालिका भित्रका विकासका पूर्वाधारहरुकाे राम्राे व्यवस्था मिलाउने पनि जानकारी दिए । उनले यसअघिका नेताहरुले भनाइमामात्र सीमित गरेका विकासका काम आफूले पूरा गर्ने बाचासमेत गरे।
लामाे समय स्थानीय राजनीतिमा सक्रिय भएकाे र आफू स्थानीय नागरिकबीच परिचित भएका कारण पनि आफ्नाे दाबेदारी बलियाे रहेकाे उनकाे विश्वास छ ।