• २०८३ असार ४
  • 2026 June 18, Thursday

निजामती विधेयकको विषयलाई माओवादीले राजनीतिकरण गर्न खोज्यो : सांसद बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले निजामती विधेयकलाई रोक्ने सरकारको कुनै योजना नरहेको भन्दै यस विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका हुन् ।

सरकारकै पहलका कारण उक्त विधेयक समितिबाट छिटो पारित भएर संसदमा आएकाले प्रतिपक्षीले अनावश्यक राजनीति गर्न जरुरी नरहेको उनको भनाइ छ । बर्तौलाले प्रधानमन्त्रीले समेत उक्त विधेयक छिटो पारित गर्ने वातावरण बनाउन निर्देशन दिइसकेको जानकारी दिए ।

निजामती विधेयकका सन्दर्भमा कुनै आशङ्का नगर्न उनले आग्रह गरे । बर्तौलाले असार १५ गते अगाडि नै सम्बन्धित विभागीय मन्त्रीसँग छलफल गरेर उक्त विधेयकलाई सदनबाट अघि बढाइने दाबी गरे ।उनले अहिले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने अवस्था भएकाले नियमित विधेयकलाई रोकेर बजेटमाथिको छलफललाई तीव्रता दिइएको बताए ।