• २०८३ असार ४
  • 2026 June 18, Thursday

आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन, न्याय परिषद्को निर्णयले तान्यो

काठमाडौँ । नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई न्याय परिषदले छानबिनका लागि तानेको छ। न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध परिषदमा उजुरी परेको थियो।

न्याय परिषदमा यसअघि दुवै न्यायाधीशको सुरक्षा र कार्यक्षेत्रबाट हटाउने विषयमा छलफल भए पनि सहमति नहुँदा निर्णय रोकिएको थियो। यसबीचमा न्यायाधीश थारुमाथि दुव्र्यवहार भएको घटना पनि सार्वजनिक भएको थियो।

आलममाथि मानिसहरूलाई जिउँदै इट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा रौतहट जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले आलमलाई सफाइ दिएपछि यो फैसलाको देशभर चर्चा भएको थियो।

मृतक पिन्टु त्रिलोकका बुबाले समेत दुवै न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी दिएका थिए। न्याय परिषदको बिहीबारको बैठकले एक सदस्यीय छानबिन समिति गठन गरी दुवै न्यायाधीशलाई कार्यक्षेत्रबाट हटाएको उच्च अदालत प्रशासन स्रोतले जनाएको छ।