• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने दाउमा नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

नेपाल हालसम्म तीन खेलमध्ये दुईमा विजयी हुँदै अंक तालिकाको शीर्ष स्थानमा छ र आजको खेल जितेमा नेपालले सिरिज आफ्नो पक्षमा पार्नेछ।

स्कटल्यान्डले भने तीन खेलमध्ये एकमात्र खेल जितेको छ र दुई अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ। आजको खेल दुबै टोलीका लागि निर्णायक हुनेछ, किनकि सिरिज जित्न अबको जित अनिवार्य छ।

सिरिजमा नेदरल्यान्ड्सले चार खेल खेलेर चार अंक जोड्दै दोस्रो स्थानमा स्थान बनाएको छ।

नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा हार व्यहोरेको थियो। त्यसपछि उसले स्कटल्यान्डलाई दुई विकेटले र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै बलियो पुनरागमन गरेको थियो।

आजको खेल पनि नेपालले आफ्नो पोल्टामा पार्न सकेको खण्डमा नेपालका लागि जारी श्रृङ्खलामा सुखद् समापन हुनेछ ।