काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले शहरी विकास मन्त्रालयले गणेशमान सिंहको नाममा ५७ करोडको अनुत्पादक बजेट छुट्याएर उनको अपमान गरेको भन्दै संसदमै मन्त्रीसँग माफी माग्न माग गरेका छन्। विनियोजन विधेयक, २०८२ को छलफलका क्रममा उनले मन्त्रालयलाई ‘गाईजात्रा’ को संज्ञा दिँदै बिचौलिया र आसेपासेलाई पोस्ने काम मात्र भएको आरोप लगाए।
ज्वालाले शहरी विकास मन्त्रालयले आफ्नो परिभाषित काम नगरेर आफ्ना भरौटे र बिचौलियाहरूलाई फाइदा पुर्याउन योजनाहरू घुमाएर बजेट थुपारेको बताए। उनले भने, “आफ्नो इन्ट्रेष्टका लागि आसेपासे र वरिपरिका मान्छेका लागि जुनसुकै शीर्षकमा योजनाहरू थुपारेर बिचौलियाहरूलाई कमाइ खाने भाँडो बनाइएको छ।” उनले यस्ता योजनाहरूको अनुगमन गर्न र बेथितिको हद भएको भन्दै तीव्र आलोचना गरे।
विशेष गरी गणेशमान सिंहको नाममा छुट्याइएको ५७ करोड बजेटलाई लिएर ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहमाथि आक्रोश पोखे। “यो बजेट कुनै उत्पादनमूलक काम वा युवालाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचना बनाएर गणेशमान र मंगलादेवीलाई बदनाम गरिएको छ,” उनले भने। उनले मन्त्रीलाई संसद्को रोष्टमबाट माफी माग्न माग गर्दै गणेशमानको सम्मान सबैले गर्ने र उनको ‘हाइट’ यस्तो नभएको बताए। उनले पुष्पलालको नाममा ७० लाखको योजनासँग तुलना गर्दै मन्त्रालयको यो कदमलाई ‘गाईजात्रा’ को संज्ञा दिए।
ज्वालाले बजेट विनियोजनमा क्षेत्रीय असन्तुलनको पनि आलोचना गरे। उनले काठमाडौँको सानो क्षेत्रमा ठुलो बजेट केन्द्रित भएको तर डोल्पा र सल्यानजस्ता ठुला र आवश्यकता भएका क्षेत्रमा बजेट नपरेको बताए। “सल्यानमा एक लाख ६० हजार मतदाता छन्, ती ठाउँमा यस्ता योजनाहरू परेका छन् त?” उनले प्रश्न गरे।
ज्वालाले मन्त्रालयको बेथिति र ज्यादती रोक्न योजनाहरूको अनुगमन गर्नुपर्नेमा जोड दिए। “माननीय मन्त्री सिनियर मान्छे हुनुहुन्छ, यस्तो बेथितिको हद हुन्छ,” उनले भने। उनले मन्त्रीलाई जिम्मेवार बन्न र गणेशमानको सम्मानमा माफी माग्न पुनः आग्रह गरे।