• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

गभर्नर पौडेलको नाममा २३ करोडको सम्पत्ति, १४ करोडभन्दा बढीको सेयर

काठमाडौँ । गभर्नर डा. विश्वनाथ पौडेलले करिब २३ करोडको सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका छन् । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार उनले सम्पत्ति विवरण बैंकमा बुझाएका हुन्।

उनीसँग दुई स्थानमा घरजग्गा रहेको र उक्त जग्गा श्रीमतीको नाममा रहेको छ । ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्ग फिटको घर छ।

विवरणमा पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रुपैयाँमा घरजग्गा किनेको उल्लेख गरेका छन्। नवलपरासीको गैँडाकोटमा पनि पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले ६० लाख रुपैयाँमा घर किनेको विवरणमा उल्लेख छ। पौडेलको आफ्नो र पत्नीको नाममा गरेर १४ करोड रुपैयाँभन्दा बढीको सेयर छ।

गभर्नर पौडेलसँग सुनका गहना ४५ तोला छ। त्यस्तै, करिब १५ लाख रुपैयाँ बराबरको हिरा छ। सुन भने पैतृक रूपमा पाएको उल्लेख छ।

पौडेल र उनको पत्नीका नाममा बैंकमा २० लाख ६८ हजार रुपैयाँ बचत छ। यसबाहेक डलर खाता पनि छ। उनको नामको डलर खातामा ६६ अमेरिकी डलर छ भने उनको पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर छ।