• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

यू–१६ इस्ट जोन कपमा इन्डोनेसियामाथि नेपालको ३७० रनको विशाल जित

यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ३७० रनको शानदार जित निकालेको छ। मलेसियाको सेलाङगोरमा आइतबार सम्पन्न खेलमा कप्तान विपिन शर्माको उत्कृष्ट प्रदर्शनसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२१ रन बनायो। प्रसिद्ध मल्लले १३२ रनको शतकीय इनिङ्स खेले भने परिमार्जन यादवले २८ बलमा ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रनको योगदान दिए। सुगम बुढाथोकीले पनि ३९ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसिया २४.३ ओभरमा जम्मा ५० रनमै समेटियो। नेपालका कप्तान विपिन शर्माले मात्र १२ रन खर्चेर ७.३ ओभरमा २ मेडनसहित ६ विकेट लिए। इन्डोनेसियाका केभिन चड्डा (१५) र दिभित नाडा (१४) बाहेक अन्य ब्याटरले दोहोरो अंकसमेत छोएनन्।

इन्डोनेसियाका बलरमध्ये केटुट दर्माले २ विकेट लिए भने अन्य तीन जनाले एक–एक विकेट लिए।

यो जितसँगै नेपालले ३ खेलबाट ६ अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा कब्जा जमाएको छ। सिंगापुरले ४ खेलमा ६ अंक हासिल गरे पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। यसअघि नेपालले सिंगापुरलाई ६ विकेट र जापानलाई ९ विकेटले हराएको थियो।