पत्र लेखेरै काँग्रेस भित्र्याइएका विनोद चौधरीमाथि विष वमन, शेखर कोइरालाको गुटगत राजनीति चरममा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालाले विनोद चौधरीको केन्द्रीय सदस्यको उम्मेदवारीको योग्यतामाथि प्रश्न उठाएपछि यी दुईबीच आरोप प्रत्यारोप चल्यो । कोइरालाले पार्टी विधानअनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष सक्रिय सदस्य हुनुपर्ने प्रावधान भएको र चौधरीले यो मापदण्ड पूरा नगरेको दाबी गरेका थिए ।

चौधरीले कोइरालाको यो भनाइको कडा प्रतिवाद गरे । उनले कोइरालामाथि गुटबन्दीको राजनीति गरेको र पार्टीको अनुशासन समितिमाथि अनावश्यक प्रश्न उठाएको आरोप लगाए । चौधरीले कोइरालाले लुम्बिनी प्रदेशको महामन्त्रीलाई समर्थन गरेर आफूलाई हराउन खोजेको र यस्तो प्रवृत्तिले पार्टी नेतृत्व गर्न नसक्ने जिकिर गरे ।

यी दुईबीचको आरोप प्रत्यारोपपछि नेपाली कांग्रेसका अन्य नेताहरुले यसबारे आफ्ना भिन्न भिन्न मत राखिरहेका छन् । चौधरी पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, पार्टीको कानून विभागले गरेको विश्लेषण, त्यसको निर्णय र त्यसपछि गएको अदालत र अदालतलेसमेतले गरेको निर्णय र निर्वाचन आयोग यी सबैबाट सफाइ प्राप्त व्यक्ति हुन् ।

विसं २०४६ सालपश्चात नेकपा एमालेसँग नजिक भएका चौधरी २०६४ मा नेकपा एमाले पार्टीले मनोनित गरेको संविधान सभाको सदस्य बनेका थिए । प्रतिनिधिसभा निर्वाचन, २०७४ अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । तत्कालिन समयका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्र नै पठाएर चौधरीलाई कांग्रेसमा स्वागत गरेका थिए । देउवाले राष्ट्रको आर्थिक समृद्धि लोकतन्त्रवादीको प्रमुख एजेन्डा रहेकाले त्यसलाई साकार पार्न उद्योगी चौधरीले उल्लेखनीय योगदान गर्न सक्ने कुरा पत्रमा उल्लेख गरेका थिए ।

उनले पत्रमा लेखेका थिए, ‘आर्थिक विकासको अभियानमा प्रेरणादायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ । तपाईंको सबल, सक्षम र सबैलाई परिचालन गर्न सक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्नमा प्रभावकारी योगदान पुग्ने विश्वास लिएको छुु ।’ आर्थिक विकासका लागि लगानीको वातावरण बनाउनुपर्ने आवश्कता भएको र त्यसका लागि आवश्यक सल्लाह सुझाव र अन्तर्राष्ट्रिय लगानीकर्ता भित्राउनसमेत चौधरीको नेतृत्वदायी भूमिका आवश्यक रहेको देउवाको भनाइ थियो ।

यसरी पार्टी सभापति देउवाको अनुरोधमा पार्टी प्रवेश गरेका चौधरी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा थिए । चौधरी दोस्रो स्थानमा रहेर विजयी बनेका थिए । त्यसपछि पनि कांग्रेसको विधानअनुसार चौधरी केन्द्रीय सदस्य बन्न नमिल्ने बहस भएको थियो । उक्त बहस चर्किएर केन्द्रीय निर्वाचन समिति, निर्वाचन आयोग र सर्वोच्चसम्म पुगेको थियो । तर यी सबै ठाउँबाट चौधरी योग्य ठहरिएका थिए । तर अहिले पुनः पार्टी सभापति बन्ने लाइनमा रहेका कोइरालाले चौधरी केन्द्रीय सदस्य बन्न अयोग्य भनेपछि यी दुईबीच टकराव चुलिएको हो ।

नेपाली कांग्रेस पार्टीभित्र कोइराला एक समूहको ‘नाइके’ बनिरहेका छन् । आफ्नै स्वार्थ र सत्तालोलुप मानसिकताका भरमा कोइरालाले नेपाली कांग्रेस पार्टी गुटको रिङमा घुमाइरहेको देखिन्छ । पार्टीको मूल मर्म, सिद्धान्त र विचारभन्दा पनि उनले व्यक्तिगत ‘घेरा’ बनाउने, असहमतलाई दुश्मन ठान्ने र योग्य नेताहरूमाथि प्रश्न उठाउने प्रवृत्तिले कांग्रेसभित्र स्वच्छ राजनीतिको साँघुरो ठाउँ मात्रै बाँकी राखेको जस्तो देखिएको छ ।

विनोद चौधरीमाथि केन्द्रीय सदस्य बन्ने योग्यता छैन भन्ने आरोप केवल सत्ता–गुटको द्वन्द्वलाई भित्रैदेखि चर्काउने प्रयासमात्र भएको पनि कतिपयको बुझाइ छ । चौधरी जस्ता उद्योग, अन्तर्राष्ट्रिय अनुभव र योगदान बोकेका नेताविरुद्ध खनिनु भनेको पार्टीलाई विचारको थलोबाट उठाएर गुटको अखाडा बनाउने योजनाको हिस्सा हो ।

शेखर पक्षको गुटगत व्यवहार अब केवल ‘विचारको बहस’ होइन, ‘बदला र आक्रोश’को राजनीतिमा परिणत भएको जस्तो पनि यो आरोपले पुष्टि गरेको छ । एउटै पार्टीभित्र आफू अनुकूल नभएका पात्रहरूप्रति बेतुकको आरोप, बैठकमा अपमानजनक टिप्पणी र सार्वजनिक साख घटाउने चालहरू केवल कुर्सीका लागि गरिएको त हैन ? भन्ने आशंका पनि उत्तिकै छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१