काठमाडौं। बागमती प्रदेश सभा सञ्चालनका विषयमा लिएर दलहरूबिच सहमति भएको छ। बिहीबार दिउँसो सभामुख भुवन कुमार पाठकको संयोजनमा बसेको सर्वदलीय बैठकमा दलहरूबिच सहमति जुटेको हो ।
बागमती प्रदेशका ६ दल बिच भएको छलफलमा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने सहमति भएको हो। बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रतिपक्षले उठाउँदै आएका विषयलाई समेट्ने गरी बैठकमा सहमति भएको बताए ।
बैठकले बजेटलाई सन्तुलित र व्यवस्थित बनाउन सरकारले आवश्यक काम गर्ने गरी लिखित सहमति गरिएको उनले बताए । उनका अनुसार सरकारले बजेटमा भएका कमीकमजोरी सुधार गर्दै टुक्रे योजनालाई समेत व्यवस्थापन गर्नेगरी सहमति गरेको छ ।
बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले सहित प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी सहभागी थिए ।योसँगै पटक पटक रोकिँदै आएको बागमती प्रदेशसभा सञ्चालन हुने बाटो खुलेको छ। बिहीबार साँझ नै प्रदेशसभा बैठक सञ्चालन गर्ने गरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।
यसअघि बिहान दिउँसो १ बजेका लागि बोलाएको बैठक २ बजेका लागि सारिएको थियो। २ बजे पनि बैठक बस्न नसकेपछि पूर्ण सूचना टाँस गरेर ५ बजेका लागि बैठक सारिएको थियो। बजेटमाथिको विवादका कारण प्रदेशसभा बैठक गत असार १२ गतेदेखि प्रभावित बन्दै आएको छ।