काठमाडौं। बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि रकम निकासा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भवन निर्माणका लागि ३ करोड १ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
गत आर्थिक वर्षमा प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि लागत साझेदारीमा ८ करोड रुपैयाँ उपलब्ध गराउने गरी निर्णय गरेको थियो । सोहीअनुसार अहिले ३ करोड १ लाख रुपैयाँ निकासा दिने निर्णय भएको हो।
मन्त्री लामिछानेका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्ने स्वीकृति पनि प्रदान गरेको छ । बैठकले साबिकको स्थानबाट वडा नम्बर–४ मा सार्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।
लिखु गाउँपालिकाका दुई तिहाइ जनप्रतिनिधिको हस्ताक्षर सहितको प्रस्तावमा केन्द्र सार्न स्वीकृति दिएको उनले बताए । साबिकको स्थानमा जग्गा नभएकाले गाउँपालिकाको प्रशासनिक कार्य सञ्चालनमा समेत बाधा पुगेकाले वडा नम्बर–४ मा जग्गा प्राप्ति समेत गरेर केन्द्र सार्न प्रस्ताव गरिएको उनले बताए ।
बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीको वैदेशिक भ्रमण समेत स्वीकृत गरेको छ । सचिव अधिकारी आगामी असार ३१ गतेदेखि साउन ५ गतेसम्म भियतनाममा हुने कार्यक्रममा सहभागी हुन वैदेशिक भ्रमणमा जानेछन् ।