• २०८३ असार ४
  • 2026 June 18, Thursday

‘देउवाप्रति देशको अपेक्षा उच्च, अन्तर्राष्ट्रिय समर्थन पनि छ’ : ज्ञानेन्द्र कार्की

काठमाडौँ। नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।  सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले कतिपय सन्दर्भमा काँग्रेसलाई आफैँबाट चुनौती रहेको बताए ।

उनले भने, ‘काँग्रेस विभाजित होइन, एक ढिक्का भएर अगाडि बढ्नुपर्दछ । अहिलेको समयको आवश्यकता यही हो ।आमनागरिकमा अझै पनि काँग्रेसमाथि विश्वास छ । जनमत काँग्रेसकै पक्षमा छ । म आफैँ पनि जिल्ला जाँदा होस् वा आममान्छेसँग अन्तरक्रिया गर्दा काँग्रेसप्रतिको भरोसा घटेको छैन।

काँग्रेसप्रतिको त्यो विश्वासलाई कमजोर बनाउन पनि सुनियोजित रूपमा काँग्रेसमाथि आक्रमण भइरहेको छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ ।’महाधिवेशन समयमा हुन्छ कि हुँदैन भनेर बहस गर्नुको अर्थ नभएको उनको भनाइ छ ।

नेता कार्कीले भने, ‘महाधिवेशन हामीले नै गर्ने हो । बाहिर मिडियामा महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न गर्नुको साटो हामी सबैले महाधिवेशन गर्नेतर्फ लाग्नुपर्दछ । महाधिवेशन गर्ने जिम्मेवारी एक जना सभापतिको मात्रै होइन, यो सिङ्गो कार्यसमितिकै हो ।

१४औँ महाधिवेशनका बेला पनि सभापतिज्यूमाथि महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न उठाइने गरिन्थ्यो, तर वैधानिक समयमै महाधिवेशन गराउनुभयो ।’१५औँ महाधिवेशन केवल औपचारिकताका लागि मात्रै नभई यो देशको भविष्य काँग्रेसकै नेतृत्वमा मात्रै सम्भव छ भन्ने सन्देश दिने गरी वडा तहदेखि अधिवेशन गर्नुपर्नेमा उनले जोड दिए ।

नेता कार्कीले थपे, ‘देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको सभापति हुनुहुन्छ । उहाँको नेतृत्वमा काँग्रेस मात्रै होइन, देशले धेरै अपेक्षा गरेको छ । सोसल मिडियाले जनमत बनाउन भूमिका खेल्ने भएकाले वडा तहबाटै सङ्गठित रूपमा सोसल मिडिया सञ्चालनको अभ्यास थाल्नुपर्दछ ।