शानदार प्रदर्शनसहित नेपालले जित्यो एसिसी मेन्स यू-१६ इस्ट जोन कप

काठमाडाैं । नेपालले सिंगापुरलाई पराजित गर्दै एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।

मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको फाइनल खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सिंगापुरलाई ४०.५ ओभरमा ११३ रनमा समेटेको थियो।

सस्तो लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाउँदै उपाधि हात पारेको हो।

नेपालका लागि जोय थापा २४ रनमा नटआउट रहे भने शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रनको योगदान दिए।

बलिङतर्फ नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान ३/३ विकेट लिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले १ विकेट लिए।

सिंगापुरले पावरप्लेमै चार विकेट गुमाएको थियो। ओपनर रोहन अस्टिन अरूणले ८४ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाए। कप्तान रियान नाइकले १५, वेदांश गुप्ताले नटआउट १२ र आकाश तेजाले १० रन जोडे। बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालको सन्तुलित प्रदर्शनले फाइनलमा दबदबा जमाउँदै उपाधि दिलायो।

नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१