• २०८३ असार ४
  • 2026 June 18, Thursday

विमानस्थलको संरचना साँघुरो भएकाले ढिलाइ भइरहेको छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको देखिने गरेको बताएका हुन्।

मन्त्री पाण्डेले अरु देशमा जहाजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नु परेको जस्तो देखिएको बताए

मन्त्री पाण्डेले भने, ‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ। नजिक नजिक छ। अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ।

हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ। एउटा हाम्रो स्पेसको सीमाको कारण हो। सीमितताको कारण एउटा हो। हामीले आफूले ध्यान दिनुपर्ने कुरा यो हो। यसले ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने क्षमता राख्छ हाम्रो एयरपोर्ट टिआइएले। तर यस पटक ९५ लाख यात्रुहरू ओहोरदोहोर गरेका छन्। यसले पनि खचाखच हुने अवस्था छ। दोब्बर भन्दा बढी त्यसले धान्नुपरिरहेको अवस्था छ। त्यसका बाबजुत पनि छरितो र प्रभावकारी बनाउने कुरामा हामी सल्लाह गरेरै तद्तद् ठाउँबाट गर्नुपर्ने काममा हामी पहलकदमी गर्नेछौँ।’