• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

कांग्रेस बैठकमा गोपालमानको प्रश्न :आरोप लाग्दा एमाले-माओवादीले आफ्ना नेता जोगाए, कांग्रेसले किन सकेन ?

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। विभिन्न मुद्दा लागेका पार्टीका नेतालाई बचाउन नसकेको भन्दै श्रेष्ठले नेतृत्वको आलोचना गरेका हुन्।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै श्रेष्ठले नेकपा माओवादी केन्द्र र एमालेले आफ्ना नेताहरूलाई कानुनी समस्या परेका बेला समेत जोगाएको उल्लेख गर्दै कांग्रेसले किन त्यसो गर्न नसकेको भनेर प्रश्न उठाए। उनले खुमबहादुर खड्का, विजयकुमार गच्छदार र चिरञ्जीवि वाग्लेसहितका नेताहरूलाई उदाहरण दिँदै कांग्रेसले आफ्नै नेताहरूलाई संरक्षण गर्न नसकेको गुनासो पोखेका हुन्।

उनले पार्टीभित्र नेताहरूबीच समान व्यवहार नभएको, अनुशासन कायम गर्न नसकेको र समयक्रममा पार्टीको जनमत खस्कँदै गएकोप्रति पनि चिन्ता व्यक्त गरे। २०७४ को निर्वाचनमा आफ्नै पार्टीका कार्यकर्ताहरूबाट मत नपाएको प्रसंग कोट्याउँदै उनले मत नदिनेहरूविरुद्ध कुनै अनुशासनात्मक कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरे।

यस्तै, सक्रिय सदस्यता नवीकरणको काम प्रभावकारी रूपमा नहुँदा आगामी चुनावमा कांग्रेसको मत परिणाम कमजोर हुने भन्दै उनले महासचिवको ध्यानाकर्षण समेत गराए।

श्रेष्ठले कांग्रेसभित्र आन्तरिक कलह चुलिएको भन्दै एकता आवश्यक रहेको उल्लेख गरे। साथै, गठबन्धन सरकारको प्रभावकारिता र जनतामा परेको असरबारे चासो जनाउँदै ढिला नगरी मूल्यांकन गर्न नेतृत्वलाई सुझाव पनि दिए।