• २०८३ असार ४
  • 2026 June 18, Thursday

‘कुलिङ पिरियड’ विवाद छानबिन गर्न समिति गठन, यिनी हुन् सदस्यहरू

काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको नाम टुङ्गिएको छ ।

सभामुख देवराज घिमिरेलाई दलहरूले आफ्नो भागमा परेका सदस्यहरूको नामावली दिएका हुन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य हुने सहमति दलहरूबिच भइसकेको छ ।

सभामुखको सचिवालयका अनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन् । नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्कीलाई सदस्य बनाउन नाम सभामुख घिमिरेलाई दलहरूले उपलब्ध गराएका सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । सहमति अनुरूप आज प्रतिनिधिसभाबाट समिति घोषणा गरिनेछ । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइनेछ ।