काठमाडाैं मेडिकल कलेजकाे सफलताः श्रीमतीकाे कलेजाे श्रीमानमा प्रत्याराेपण

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा क्षेत्रमै ऐतिहासिल सफलता हासिल गरेको छ । कलेजले पहिलोपटक सफलतापूर्वक कलेजो (लिभर) प्रत्यारोपण गरेर नेपाली चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण सफलता प्राप्त गरेको हो ।

सोमबार कलेजले पत्रकार सम्मेलन नै गरेर डडेल्धुराको अमरगढी नगरपालिका–५ का ४० वर्षीय प्रदीप नगरकोटीमा कलेजो प्रत्यारोपण गरिएको जानकारी गराएको छ । प्रदीपलाई उनकी ३३ वर्षीया श्रीमती यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन् ।

कलेजो प्रत्यारोपणको नेतृत्व केएमसीका वरिष्ठ सर्जन डा. रोशन घिमिरेको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको हो । प्रत्यारोपणमा डा. प्रविण थापा, डा. सागर पौडेल, डा. मोना शर्मा, डा. विजय लगायतको महत्वपूर्ण भूमिका रहेको भन्दै कजेलका सञ्चालक समेत रहेका सांसद डा. सुनिल शर्माले उनीहरुलाई धन्यवाद दिए ।

‘हामीले २ महिना भित्र जुन कामहरु गर्यौं, यसले नेपालको मेडिकल विधामा छलाङ् मार्न हामी सफल भएका छौं । यसभन्दा अगाडी मृत मस्तिष्कबाट जिवित मान्छेमा नेपालीहरु मात्र सहभागी भएर मस्तिष्क ट्रान्सप्लान्ट गर्न सफल भएका थियौं, अहिले लिभर ट्रान्सप्लान्ट गर्न सफल भयौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रीले अङ्ग प्रत्यारोपणको अनुमति प्रदान गरेकोमा सांसद डा. शर्माले धन्यवाद दिँदै भने, ‘अहिलेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलजीलाई धन्यवाद ज्ञापन गर्दछौं । तपाईले गर्नुभएको काम हाम्रो निम्ति नभएर दूरदराजबाट आउनु भएका गरिब बिरामीहरुको निमित्त जीवन बरदार थियो ।’

कलेजो प्रत्यारोपण अत्यन्तै महंगो भएको बताउँदै डा. शर्माले कलेजो प्रत्यारोपणको सम्पूर्ण शुल्क मिनाहा गरिएको जनाए । कलेजो प्रत्यारोपण सफल भएपछि नगरकोटी स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१