• २०८३ असार ४
  • 2026 June 18, Thursday

रुपन्देही ३ मा स्वतन्त्रहरु एकमत हुने संकेत, भर्चुअल छलफल

काठमाडौं । रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं.३ मा हुने उपनिर्वाचनमा स्वतन्त्रहरु एकजुट हुने देखिएको छ ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ । बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गते सोमवार निर्वाचन तोकिएको छ ।

यस निर्वाचनमा उम्मेदवारलाई लिएर सर्वत्र चासो छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नाउपाले उम्मेदवार तय गर्दा अन्य दलले गरेका छैनन् । इन्जिनियर सागर ढकालले केहि दिन अगाडि सामाजिक सञ्जालमा सार्वजनिक गरेको वक्तव्यले उनी स्वतन्त्रको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिन लागेको विषय चर्चामा छ । यद्यपी त्यहा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सल्लाहकार सन्तोष गिरीको पनि चर्चा छ ।

यसैबिच त्यस क्षेत्रमा कसलाई स्वतन्त्रको प्रतिनिधित्व गर्दै उम्मेदवार बनाउनेबारे स्वतन्त्र व्यक्तिहरुले छलफल गरेका छन् । भर्चुअल बैठकमार्फत उनीहरु उम्मेदवार, एजेण्डा र चुनावी तयारीमा लागेका छन् । बालेन साहका सल्लाहकार गिरी, जय स्वभिमान अभियानका प्रेम बानिया, नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङ, डा. निकोलस भुसाललगायतले भर्चुअल छलफल गरेका छन् ।