गृहमन्त्रीको रास्वपालाई चुनौती: ‘अनुमानमा होइन, प्रमाणसहित बोल्नू’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेर जाने भएकाले सबै फर्किएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीसँग भ्रमणमा गएको को नफर्किएको देखाउन चुनौती दिए ।

उनले भने, ‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मानिसहरू उतै बसेको भन्ने कुरा उठेको छ । हामीले कुनै पनि विषयको न्यूनतम ज्ञान जानकारी राख्नुपर्छ, सदनमा जिम्मेवार भएर विषयवस्तुलाई मर्यादीत ढङ्गले प्रस्तुत गर्दा राम्रो हुन्छ ।’

यो विषय सदनमा रास्वपाकी सांसद सोविता गौतमले प्रवेश गराएकी थिइन् । गृहमन्त्री लेखकले यस्ता कुरा बोल्दा अनुमान र कल्पनामा नबोल्न आग्रह गरे ।

उनले भने, ‘असत्यको पुलिँदा बाँधेर कहीँ पनि पुगिँदैन । प्रधानमन्त्रीसँग जानुभएको प्रतिनिधिमण्डल सरकारबाट निर्णय भएर गएको छ । त्यो सबैलाई थाहा छ । को मानिस फर्केनन् भने भनिदिनुहोला ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१