लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई कारबाही गरेको छ। आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिको असार १७ को निर्णयअनुसार महामन्त्री खनाललाई कारबाही गरिएको हो।

अनुशासन समितिले महामन्त्री खनालमाथि कारबाही गरेको पत्र आज लुम्बिनी कांग्रेस कार्यसमितिमा पठाएको छ। २०७९ मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी बर्दघाट १० घर भएका महामन्त्री खनालले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको आरोपमा अनुशासन समितिमा उजुरी परेको थियो।

नवलपरासीमा कांग्रेसका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेल थिए। चौधरी नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार भएर चुनाव जिते भने नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका कँडेल पराजित भएका थिए।

चुनावमा चौधरी र कँडेललाई असहयोग गरेको आरोप खनालमाथि लागेको थियो। अनुशासन समितिले महामन्त्री खनालमाथि स्पष्टीकरण पनि सोधेको थियो। खनालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै अनुशासन समितिले एक वर्षका लागि पार्टी सदस्यताबाट नै निस्कासन गर्ने निर्णय गरेको छ।

खनाल कांग्रेस संस्थापनइतर समूहका हुन्। असार १६ गतेदेखि असार २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिमा पनि अनुशासन कारबाहीमाथि केन्द्रित रहेर प्रश्न उठेका थिए। केन्द्रीय सदस्यद्वय चौधरी र कँडेलले चुनावमा असहयोग गर्नेलाई कारबाही गरिनुपर्ने धारणा राखेका थिए।  केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्ने बताएका थिए।

‘अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ।

तपाईँका विरूद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू। यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन। एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ। कारबाहीमा किन विभेद?’ कोइरालाले केन्द्रीय समितिमा प्रश्न गरेका थिए। यसपछि बोलेका केन्द्रीय सदस्यद्वय चौधरी र कँडेलले लुम्बिनी महामन्त्री खनाललाई ‘जोगाउन’ कोइरालाले यस्तो अभिव्यक्ति दिएको आरोप लगाएका थिए।

516495677_1292312338976483_3768040749328330360_n-(1)-1752052465.jpg

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१