• २०८३ असार ४
  • 2026 June 18, Thursday

प्रधानमन्त्रीद्वारा सिनेट बैठक बालुवाटारमा राखिएकोप्रति नेविसंघको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघले विद्यार्थी प्रतिनिधि विना सिनेट बैठक अमान्य हुने बताएका छन्। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सिनेट बैठकका बालुवाटारमा राखेपछि नेविसंघले असन्तुष्टि जनाएको हो।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालयमा मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनु पर्ने माग विपरीत नियुक्ति गरिएकोमा पनि आपत्ति जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरका क्याम्पसहरूमा छात्रछात्राले मेरिटोक्रेसी प्रणालीको समर्थन गरिरहेकै बेला प्रधानमन्त्री तथा कुलपतिले सिफारिसको भरमा उपकुलपति नियुक्त गर्नु निन्दनीय छ । उपकुलपति नियुक्त हुनु आश्चर्यजनक छ ।’

विश्वविद्यालयको सुधारमा कुलपति, सहकुलपतिको सकारात्मक भूमिकाको अपेक्षा गरिराखेको समयमा उनीहरूको ध्यान आफ्नो नियन्त्रण कायम गर्नमा मात्र देखिनु दुःखद भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियतले डाकिएको विश्वविद्यालय सभा बैठक न त विद्यार्थीको पक्षमा हुन्छ, न त शैक्षिक वातावरण निर्माण वा गुणस्तरीय अनुसन्धानमा केन्द्रित हुन्छ ।

विश्वविद्यालयको प्रमुख सरोकारवाला विधिवत् निर्वाचित प्रतिनिधिहरूलाई सहभागी नगराई गरिएको यस्तो बैठक केबल अलोकतान्त्रिक र अपारदर्शी मात्र नभई सम्पूर्ण विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान पनि हो ।’ विद्यार्थीहरूको आवाजलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।