• २०८३ असार ४
  • 2026 June 18, Thursday

अनुशासन आयोगको कारबाहीमाथि पुनर्विचार गर्न सभापति देउवासमक्ष आग्रह गर्ने तयारी

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ ।

नेता डा. कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधान विपरीत र एकतर्फी भएकाले कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद राजेन्द्र बजगाईँले जानकारी दिए ।

बैठकमा उपसभापति धनराज गुरुङले कसैलाई पनि काखापाखा नगरीकन एक ढिक्का गरी सशक्त रूपले पार्टीलाई अघि बढाउने काम भइरहेको अवस्थामा अनुशासन आयोगमार्फत एक्कासि कारबाहीको नाम सार्वजनिक गरिएकोमा दुःख व्यक्त गरे ।

बैठकमा नेता कोइरालासहित उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायतको उपस्थिति थियो ।