प्रधानमन्त्रीको भिडियो कलले खेलाडी तनावमा परेको प्रश्नमा ओलीको जवाफ– “दिमाग खुस्केको मान्छेले गर्छ यस्तो कुरा”

नेपालउजबेकिस्तानबीचको निर्णायक खेलमा नेपाली महिला फुटबल टिमले हार बेहोर्नुपरेको खेलसँगभन्दा बढी अहिले त्यसअघिको राजनीतिक हस्तक्षेपको विषयमा बहस चर्किएको छ। खेल अगाडि नै राजनितीक कारणले खेलाडीहरु मानसिक तनावमा परेको कुराले अहिले निकै चर्चा पाएको छ । खेल शुरु हुनुअघि बिहान ११ बजे प्रधानमन्त्रीसँग गरिएको भर्चुअल मिटिङ खेलाडीहरूका लागि ‘राजनीतिक दबाब’मा परिणत भएको भनेर नेपालका प्रशिक्षक प्याट्रिक डे वाइल्डले एक अन्तरवार्तामा भनेका थिए ।

यो विषयमा एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीले जब प्रधानमन्त्रीलाई सोधे प्रधानमन्त्रीज्यू, तपाईंले खेल भएको दिनै खेलाडीहरूसँग भिडियोकलमार्फत् सम्पर्क गर्नुभयो, जसले गर्दा उनीहरूमा मानसिक तनाब थपियो रे नि त?”

जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले भने “यस्तो कुरा दिमाग खुस्केको मान्छेले गर्ने कुरा हो।”

प्रशिक्षक प्याट्रिक डे वाइल्डका अनुसार त्यस दिनको खेलको नतिजा खेलाडीहरूको मानसिक अवस्था र राजनीतिक हस्तक्षेपसँग गाँसिएको दाबी गरेका थिए ।

वाइल्डका अनुसार, “हामीले खेल ३१ को स्थितिबाट बराबरीमा ल्याएका थियौं, तर पेनाल्टी सुटआउटमा ३ देखि ५ जना खेलाडीले पेनाल्टि प्रहार गर्नै मानेनन्। उनीहरू प्रधानमन्त्रीसँगको भिडियोकलका कारण तनावमा थिए। उनीहरू खेलको दबाबमा होइन, राजनीतिक दबाबमा थिए।”

वाइल्डले थपे, “यति संवेदनशील घडीमा प्रधानमन्त्रीसँगको मिटिङ आवश्यक थियो? मैले उजबेकिस्तानको टोलीलाई सोधेँ तिमीहरूलाई राष्ट्रपतिको फोन आयो?’ उनीहरूको जवाफ थियो हाम्रो टिममा राष्ट्र प्रमुखले कुनै दबाब दिएका छैनन्।’”

प्रशिक्षकले रियल मड्रिड क्लबको उदाहरण दिँदै भने, “जब रियल मड्रिड च्याम्पियन्स लिग खेल्छ, के अध्यक्ष फ्लोरेन्टिनो पेरेज मिडियामा आउँछन्? त्यता पनि त्यस्तो हुँदैन ।