
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै दुवै पार्टीका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशोक कुमार चौधरीलाई बोल्न अनुमति दिएका थिए। उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार उदासीन भएको आरोप लगाए। उनले विभिन्न काण्डमा मुछिएका मन्त्रीहरू जोगाउन नै सरकार लागिपरेको बताए।
मानव तस्करीका विरुद्धमा ४७ दिनदेखि आवाज उठाउँदै आएको भन्दै उनले स्पेन घटनाले भिजिट भिसा प्रकरण कति गहिरो छ भन्ने देखाएको बताए। उनले घुसको डिल गर्ने, मानव तस्करी गर्ने मन्त्रीहरूलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसैले नदिएको जिकिर गरे। घुसको डिल गर्ने मन्त्रीहरूलाई तत्काल कारबाही गर्न माग गरे।
त्यसपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बोल्नका लागि समय पाए। उनले मानव तस्करी र भ्रष्टाचार सरकारको षडयन्त्रबिना हुन नसक्ने बताए। सुशासन आयोग खै रु भन्दै सरकारलाई प्रश्न समेत गरे। उनले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले उठाएको विषयको गलत व्याख्या नगर्न समेत आग्रह गरे। उनी बोलिसकेपछि राप्रपा र रास्वपाका सांसदहरूले विरोधकै बिच सभामुखले सदन चलाएको भन्दै बहिष्कार गरेका छन्।